रूकुम पश्चिम : रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर १२ मा बाढीले घर भत्किँदा तीन जना बालिकाको मृत्यु भएको छ । वडा नम्बर १२ को बगर भन्ने ठाउँमा बाढी जाँदा तीन बालिकाको मृत्यु भएको आठविसकोटका मेयर रवि केसीले जानकारी दिए ।
मृत्यु हुनेमा ८ वर्षीया हितमाया पुन, ५ वर्षीया धनिषा पुन, ४ वर्षीया मनिषा सार्कीको मृत्यु भएको हो । यस्तै बाढीमा परी ४० वर्षीय डिल्ली बुढाथोकी बेपत्ता भएको मेयर केसीले जानकारी दिए । उनका अनुसार बाढीमा परी ७ जना घाइते भएका छन् ।
बाढीले कटान गर्दा कति घर भत्किए भन्ने यकिन विवरण नआएको उनले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गइरहेको छ । वर्षाका कारण सडक अवरुद्ध भएकाले घटनास्थल पुग्न ढिलाइ भएको रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी नवराज पोखरेलले जानकारी दिए ।






